बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी

योगेन्द्रमिलन छन्त्याल
हाम्बर्ग, जर्मनी,
भदौ ३-दमक नगरपालिका १० का ढाकेश्वर बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी आइपुग्नुभएको छ ।

५४ वर्षीय बुढाथोकी नेपालका २२ वटा जिल्लाहरु र जापान, अष्ट्रेलिया, थाइल्याण्ड, इजरायल लगायतका ३१ देशको यात्रा गर्दै यहाँ आइपुग्नुभएको हो । जर्मनी उहाँको ३२औं देश भएको छ । ३ महिने प्रवेशाज्ञामा बुढाथोकी डेनमार्क, नर्वे, स्वीडेन र नेदरल्याण्डको यात्रा गर्नुहुँदैछ ।
विश्व शान्ति र वन्धुत्वका लागि सन्देश दिन ५ वर्ष ६ महिना पहिलेबाट यात्रा थाल्नुभएका बुढाथोकीले कहिले झरी, कहिले घाम, कहिले उकाली, कहिले ओराली, कहिले सुनसान त कहिले मानववस्तीविहिन लामा राजमार्गहरु यात्रा गर्दाका तीता अनुभवहरु संगाल्नुभएको बताउँनुहुन्छ । “४८ वर्षकी श्रीमति कौशिल्याले सधै कचकच गर्थिन्, परिवारका लागि सम्झनुपर्दैन ? के पाउनुहुन्छ साइकल चलाएर ? यस्ता अप्ठ्यारा प्रश्नहरु गर्थिन् । अचेल त कराउंदा कराउदा थाकिसके परिवारका सबै सदस्यहरु ।” बुढाथोकी भन्नुभयो: “सयौ नेपाली दिदीबहिनी दाजुभाइहरुको सहयोगले म सबै समस्याहरु बिर्सेर चुनौतिको सामना गर्दैछु । मलाई विश्वास छ, यात्राको कीर्तिमानसहित नेपाली राजनीतिज्ञहरुलाई विश्व शान्ति र वन्धुत्वको सन्देश दिन पाउनेछु ।”
उहाँको यात्राका लागि नेपाली संघसंस्था र व्यक्तिगत सहयोगहरु निरन्तर पाइरहेकोमा खुशी हुनुहुन्छ बुढाथोकी । गोर्खा ब्रिटिश क्याम्पले १ हजार डलर र खड्क बहादुर कार्की मोरङ हाल इजरायलले ३ सय डलर सहयोग गर्नुभएको लगयतका खुशीका विवरण छन् उहाँसँग । सबै ठाउँमा नेपालीहरु भेटिनुहुन्छ शुभकामना दिनुहुन्छ, सहयोग गर्नुहुन्छ अनि त थप हौसला बढ्छ । पैदल मारेर दुखेका खुट्टा, तिघ्रा, साप्रा र थकित जिउले नयाँ नेपालीसँगको भेटमा थकाइ दुखाइ सबै बिर्सिन्छ भन्नुहुन्छ बुढाथोकी ।

नेपाली ढाका टोपीमा देखिनुहुने बुढाथोकीले साइकलमा नेपालको राष्ट्रिय ध्वजा फहराउदै सन् २०१३ सम्मको ९ वर्षे विश्व यात्रा तय गर्नुभएको छ ।

y.m.chhantyal@gmail.com

Posted in:

0 comments for "बुढाथोकी विश्व साइकल यात्राको क्रममा जर्मनी"

Leave a reply