आजदेखि आयल निगमका डिपो बन्द, बोनस वितरण गर्नु पर्ने कर्मचारीको माग

आयल निगम व्यवस्थापनले माग पूरा नगरेको जनाउँदै निगमका कर्मचारीले आजदेखि तेल विक्री बन्द गर्ने भएका छन्। एक साताअघि व्यवस्थापनलाई दिएको तेह्र सुत्रीय मागमा कुनै सुनुवाइ नभएको भन्दै उनीहरुले निगमका सबै डिपो बन्द गर्ने निर्णय गरेका हुन्। निगमका कर्मचारी संघ र संगठनले मंगलबार गरेको निर्णयअनुसार आज सबै डिपो बन्द गरिने छन् भने भोलिदेखि साउन बाइस गतेसम्म एक बजेपछि सबै डिपो बन्द गरिनेछ।

व्यवस्थापनले माग पूरा नगरे साउन २४ पछि हवाइ इन्धन विक्री समेत बन्द गर्ने चेतावनी उनीहरुले दिएका छन्। कर्मचारीको आन्दोलन अघि सोमबारदेखि नै उपभोक्ताले तेल पाउन छोडिसकेका छन्। माओवादी सम्बद्ध पेट्रोल पम्प मजदुर संगठन अखिल नेपाल पेट्रोल पम्प मजदुर संगठनले एक वर्षअघि भएको सम्झौता कार्यान्वयन नगर्ने पम्ममा तेल विक्री रोक लगाएका थिए। यसबाट सोमबारदेखि नै उपभोक्ताले तेल पाएका छैनन्। निगमका कर्मचारी संघ र संगठनले एक साताअघि व्यवस्थापनलाई ज्ञापनपत्र दिँदै बोनस नबाँड्ने निगमको निर्णय फिर्ता लिनु पर्ने लगायतका तेह्र बुँदे माग सात दिनभित्र सम्बोधन नभए देशव्यापी तेल दिन बन्द गर्ने घोषणा गरेका थिए।

मागका सम्बन्धमा व्यवस्थापन र कर्मचारीबीच छलफल भएको छैन। निगम बोर्डका एक सदस्यका अनुसार कर्मचारीका अन्य माग सामान्य रहेपनि बोनस सम्बन्धी मागमा उनीहरुको बिशेष जोड रहेको छ। सातवर्षसम्म लगातार घाटामा गएपनि गत वर्ष अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्दा समायोजन नगरेकाले तीन अर्ब एकतीस करोड नाफा भएको थियो। निगमका कर्मचारीले त्यही नाफाबाट बोनस पाउनुपर्ने माग राखेका छन्। तर, व्यबस्थापनले भने निगम पूर्ण रुपमा नाफामा नहरेको भन्दै घाटामा रहेको अबस्थामा बोनस वितरण गर्न नसकिने बताउँदै आएको छ।।

Posted in:

0 comments for "आजदेखि आयल निगमका डिपो बन्द, बोनस वितरण गर्नु पर्ने कर्मचारीको माग"

Leave a reply