मुलुकका ५४ जिल्लामा आज नेपाली काँग्रेसको जिल्ला अधिवेशन हँदै
मुलुकका ५४ जिल्लामा आज नेपाली काँग्रेसको जिल्ला अधिवेशन हँदैछ। सभासद् नभएका तथा एक मात्र निर्वाचन क्षेत्र रहेका १७ जिल्लामा भने यसअघि नै जिल्ला अधिवेशन भइसकेको छ भने क्रियाशील सदस्यता विवादका कारण भक्तपुर, सप्तरी, रसुवा र पर्सामा अधिवेशन स्थगित भएको छ। ती जिल्लामा केही दिनपछि अधिवेशन हुने केन्द्रीय निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले जानकारी दिनु भएको छ। गएको १७ गतेका लागि तय गरिएको जिल्ला अधिवेशन व्यवस्थापिका संसदमा प्रधानमन्त्रीको निर्वाचन परेकाले आजका लागि सारिएको हो। जिल्ला अधिवेशनमा प्रत्येक गाविस र नगरपालिकाका वडाबाट छानिएका प्रतिनिधिले आज जिल्ला कार्यसमितिको निर्वाचनमा मतदान गर्ने छन्। अधिवेशनले जिल्ला सभापति सहित सचिव, कोषाध्यक्ष र ९ जना सदस्य छनौट गर्ने प्रावधान रहेको छ। नेपाली काँग्रेस र काँग्रेस प्रजातान्त्रिकबीच एकीकरण भएपछि पहिलो पटक जिल्ला अधिवेशन हुन लागेकाले पनि आज सबै जिल्लामा रौनक छाएको छ भने अधिकाँश जिल्लामा दुवै पक्षका उमेदवार देखिने भएका छन्। महाधिवेशनमा कार्यबाहक सभापति सुशील कोइराला र बरिष्ठ नेता शेरबहादुर देउवा सभापति पदमा उम्मेदवार बन्ने पक्का पक्की भएकाले जिल्ला तहमा सोही रुपमा कार्यकर्ता विभाजित भएका छन्। अधिकांश केन्द्रीय नेताहरु आ आफ्नो जिल्लामा पुगेका छन्। यस पटक यूवा प्रतिनिधिको पनि उल्लेख्य चयन भएकालेे जिल्ला नेतृत्वका लागि युवाहरुले समेत विभिन्न जिल्लामा छुट्टै उम्मेदवार उठाएका छन। यता, राजधानी काठमाडौंमा चार जना नेता जिल्ला सभापति पदका लागि प्रतिस्पर्धा गर्दै छन्। हालका सभापति ध्यानगोविन्द रन्जित, उपसभापति भीमसेनदास प्रधान तथा यूवा नेता राजन केसी र लोकेश ढकाल चुनावी मैदानमा रहेका छन्। बेग्ला बेग्लै केन्द्रीय नेताहरुको साथमा उनीहरु चुनावी मैदानमा उत्रिएको बताइएको छ।

0 comments for "मुलुकका ५४ जिल्लामा आज नेपाली काँग्रेसको जिल्ला अधिवेशन हँदै"
Leave a reply