सोमबारको मतदानमा पनि एमाले र मधेसी मोर्चा तटस्थ, फोरम नेपालका सभासदबाट फ्लोर क्रस
तेस्रो चरणको निर्वाचनले पनि प्रधानमन्त्रीको टुंगो लगाउन सकेन। करिब चार घ48टा ढिलो गरी सुरु भएको व्यवस्थापिका संसद बैठकमा प्रधानमन्त्रीका प्रत्यासी एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेपाली कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको प्रस्ताव अस्वीकृत भएको छ। संसदमा भएको मतदानमा माओवादी अध्यक्ष दाहालको पक्षमा दुई सय ५९ मत र विपक्षीमा एक सय चौध मत खसेको थियो। मतदानमा उपस्थित पाँच सय एकासी मध्ये दुई सय आठ सभासदहरु तटस्थ रहेका थिए। यसअघि साउन पाँच गते भएको पहिलो चरणको निर्वाचनमा अध्यक्ष दाहालले दुई सय बयालीस र साउन सात गतेको निर्वाचन दुई एकचालीस मत प्राप्त गर्नुभएको थियो। यसैगरी नेपाली कांग्रेसका प्रत्यासी रामचन्द्र पौडेलको पक्षमा एक सय चौबीस र विपक्षमा दुई सय ४६ मत खसेको थियो। उपस्थित पाँच सय ५६ सभासदमध्ये एक सय ८६ सभासद तटस्थ रहेका थिए। यसअघि साउन पाँच गत भएको निर्वाचनमा पौडेलले एक सय २३ र साउन सात गते भएको निर्वाचनमा एक सय चौबीस मत प्राप्त गर्नुभएको थियो। सोमबार भएको तेस्रो चरणको निर्वाचनमा बहुमतको सरकारलाई समर्थन नगर्ने भन्दै एमाले तटस्थ रह्यो भने आफूहरुको आधारपत्र प्रति माओवादी र कांग्रेस दुवै स्पष्ट नभएको भन्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा पनि तटस्थ रह्यो। तर मोर्चाको तटस्थ रहने निर्णय विरुद्ध मधेसी जनअधिकार फोरम नेपालका केही सभासदहरुले भने माओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा मतदान गरेका थिए।
Posted in:


0 comments for "सोमबारको मतदानमा पनि एमाले र मधेसी मोर्चा तटस्थ, फोरम नेपालका सभासदबाट फ्लोर क्रस"
Leave a reply