दुवै उपप्रधानमन्त्रीको दिल्ली यात्रा
अर्थमन्त्री प्रणव मुखर्जीसँग छुट्टाछुट्टै भेटे पनि फरक सन्देश लिएर नेपाल फर्केको बुझ्न सकिन्छ ।
'नेपाली राजनीतिबारे मेरो बुझाइ कति गहिरो र सबल छ भन्ने अन्तर्राष्ट्रिय समुदायले जानेको छ,' तीन महिनाअघि पनि दिल्ली आएका गच्छदारले यसपालि मुखर्जीसँग भेटेपछि कान्तिपुरसँग भने, 'अब उनीहरूले मेरो भूमिका खोजेका छन् । भन्नुस् न, नेपालमा अहिलेसम्म भएका सबै चुनाव जित्ने नेता कति छन् ? शेरबहादुर देउवा, रामचन्द्र पौडेल, अनि म होइन ?' गच्छदारले सोझै आफूलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव नगरे पनि भारतीय नेतासँगको भेटमा 'ठूला तीन दलले नसकेपछि अब पालो चौथो शक्ति मधेसकै त हो नि' भन्ने लबजमा कुरा गरेको बुझ्न सकिन्छ । 'तीन दिन, तीन दल भन्छन्,' माओवादी, कांग्रेस र एमालेप्रति लक्ष्य गर्दै उनले भने, 'चौथो शक्तिको त कसैले कुरै गर्दैन । हामी साना र मधेसवादी
दल एकैठाउँ आउँदा कत्रो हुन्छौं ? अब देशको नेतृत्व गर्ने पालो यही चौथो शक्तिको हो ।'
गच्छदार मधेसी फोरम लोकतान्त्रिकका अध्यक्ष हुन्, जो आफैंमा गतवर्ष माओवादी या उसबाहेकको गठबन्धनलाई समर्थन गर्ने भन्ने विवादमा उपेन्द्र यादव नेतृत्वको मधेसी फोरमबाट टुक्रिएको हो ।
गच्छदारको प्रस्तावप्रति मुखर्जीले कस्तो प्रतिक्रिया जनाए भन्नेबारे तत्कालै थाहा हुन सकेन तर दिल्लीकै अर्को होटलमा बसेकी उनकी समकक्षी सुजाता कोइरालाले त्यसलाई हाँसेर उडाइन् । 'सरकारको नेतृत्व कांग्रेसले गर्छ,' उनले कान्तिपुरसँग भनिन्, 'सहमति भयो भने माओवादीले पनि गर्छ ।'
कांग्रेसमा दुई प्रमुख नेताहरू रामचन्द्र पौडेल र शेरबहादुर देउवाबीच प्रधानमन्त्री बन्न चलेको होडबाजीमा आफू नरहेको प्रस्ट पार्दै कोइरालाले भनिन्, 'पार्टीबाट को प्रधानमन्त्री बन्छ भन्ने कुरा केन्द्रीय समितिले निर्णय गर्छ ।' पौडेल पक्षधरले भनेजस्तो संसदीय दलको नेता हुँदैमा स्वतः प्रधानमन्त्रीका लागि योग्य हुने या देउवा पक्षधरले भनेजस्तो संसदीय समितिले निर्णय गर्ने कुरालाई अस्वीकार गरिन् ।
'पेटको समस्या, अल्छी लाग्ने र भिटामिन डी अलि कम भएजस्तो' भएकाले परराष्ट्र मन्त्रालयका एक सहसचिव र एक प्रहरी इन्स्पेक्टरसहित दिल्ली आएकी कोइरालाले अपोलो अस्पतालमा स्वास्थ्य परीक्षण गराएकी थिइन् । 'कार्यक्रम मिलेमा साउदी अरब पनि जाने' योजना लिएर दिल्ली ओर्लिएकी कोइरालाले यहाँ प्रधानमन्त्री र प्रमुख सत्तारूढ दल कंग्रेसकी अध्यक्ष सोनिया गान्धी र दिवंगत पिता गिरिजाका मित्रहरूसँग भेट्न खोजेको चर्चा केही नेपाली मिडियाले गरेका थिए । उनी आएका बेला यहाँका विदेशमन्त्री दिल्लीमा थिएनन् । उनले विदेश सचिव निरूपमा राव र विपक्षी भारतीय जनता पार्टीका नेताहरू राजनाथ सिंह तथा लालकृष्ण आडवाणीसँग भेटिन् ।
गच्छदारचाहिँ आँखाको आपतकालीनजस्तै मानिएका तीनवटा शल्यक्रिया गर्न पत्नी र सालासहित दिल्ली आएका थिए । दिल्लीको सरकारी अल इन्डिया इन्स्िटच्युट अफ मेडिकल साइन्सेसमा सफल उपचार गराएपछि उनले शिष्टाचार भेट गरेका थिए । उपचार या अन्य कुनै बहानामा नेपाली नेताहरूले गर्ने भारत भ्रमणलाई दिल्लीमा सबैले उत्तिकै महत्त्व नदिए पनि काठमाडौंमा राजनीतिक उद्देश्यसँग जोडेर हेर्ने गरिन्छ । यी भ्रमणमा ठूलो राजनीतिक लक्ष्य नभएको तर नेपालमा राजनीतिक मौसम त्यस्तै भएको हुनाले चासोको विषय भएको हुनसक्ने एक भारतीय विश्लेषकले अनुमान गरे ।
'भारतकै पनि सबै मन्त्री र क्षेत्रलाई नेपाली मामिलाबारे चासो हुँदैन,' उनले भने, 'तर नेपालको कुनै प्रभावशाली व्यक्ति दिल्लीमै आएर भेटका लागि समय माग्छ भने प्रधानमन्त्री र सोनियाबाहेकका नेताले सकेसम्म निराश पार्दैनन् ।'

0 comments for "दुवै उपप्रधानमन्त्रीको दिल्ली यात्रा"
Leave a reply